१००८ स्वामी रमणानन्द गिरिजी महाराजले हाम्रा हजारौँ बर्ष पुराना परम्परागत धर्म शास्त्रहरुमा हामीलाई चाहिने अर्थतन्त्रका, राजनीतिका, देश रक्षाका, परराष्ट्र नितिका तथा आधुनिक अर्थतन्त्रका यावत विषयहरुमा यथेष्ट ज्ञान भएकाले यस्को ज्ञानमा ,आफ्नो ज्ञानमा विश्वास लिनुपर्ने बताएका छन् ।


व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको पराशर सत्संग भजन किर्तन समिति बेनिपाटन तनहुँको १३ औँ साधारण सभा तथा नबौँ अधिवेशनको शुक्रवार उद्घाटन गर्दै गिरिजी महाराजले अहिलेका सन्ततिलाई स्वअनुशासनको ज्ञान दिदै नैतिक आचरणमा बस्दै असल मानिस बनेर व्यास र पराशर जन्माउनुपर्ने बताए । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले व्यास र पराशर ऋषिबाट धेरै ज्ञान लिनु पर्ने बताउदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकार कटिवद्ध रहेको बताए ।


गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले व्यास र पराशर क्षेत्रको विकासमा एकिकृत रुपमा अगाडी बढाएर जानुपर्नेमा जोड दिदै यस क्षेत्रलाई धार्मिक पर्यटकको केन्द्र विन्दु बनाउनुपर्नेमा जोड दिए ।


कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले यस पवित्रक्षेत्रलाई विकसित गर्न सके पर्यटन प्रवद्र्धनमा उल्लेख योगदान पुग्ने बताए । व्यासका अध्येता काशिनाथ न्यौपानेले यस क्षेत्र पारकोट क्षेत्र भएकाले वेदव्यासको प्रकट भूमि र पराशर आश्रम भूमिलाई विकास गर्न दक्षिणमा देवघाट उत्तरतिर मूक्तिनाथ र गोसाईकुण्ड सम्मलाई एकिकृत विकासमा जोड दिनुपर्ने बताए ।


पराशर सत्संग भजन कृतन समितिका अध्यक्ष अर्जुन गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति तनहुँका अध्यक्ष विष्णुबहादुर माझी लगायतले त्यस अवसरमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । यसअघि स्वामी रमणानन्द गिरी, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ, नगरप्रमुख बैकुण्ठ न्यौपाने, व्यासका अध्येता काशीनाथ न्यौपानेले सयुक्त रुपमा पराशर आश्रम भित्र निर्मित माता सत्यवतीको अर्धकदको शालिकको संयुक्त रुपमा अनावरण गरेका थिए ।


यसका साथै महर्षि पराशरको ध्यानगुफा, २८ औँ व्यासावतार श्रीकृष्ण द्धैपायनको अवतरण बालशिला, तथा सत्यवतीकी माता मत्स्यलाई दासराज माझी चिरफार गर्दै गरेको झल्कने मत्स्य शिलाको समेत पूर्जाअर्चना गरी अनावरण गरेका थिए । त्यस अवसरमा बोट जातिका ज्येष्ठ नागरिक सन्तुमाया माझी बोट, कुल बहादुर माझी, चन्दादाता तथा सत्यवती माताको मूर्ति निर्माता उमेश नेपाली र संस्थाका कोषाध्यक्ष जय भारतीलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए ।














