आभा कथा
शार्दूलविक्रीडित छन्द
१. पाएँ उज्ज्वल भावना हजुरमा रत्ना ! मनोवाञ्छित जो प्रेमास्पद चाख साथ मलिलो कर्तव्य उत्साहित उड्दै भर्भर प्वाँख खुल्छ नभमा हुन्छन् चरा देखियो आनन्दी मन पुष्प फुल्छ जसरी त्याे काव्यमा लेखियो ।
२. सेवा गर्न सदैव उत्सुक सफा छन् चाल सच्चा निका आत्मानन्द दिलाउने रसिक छन् हुन्नन् कसै ती फिका मोक्षानन्द छ साथ साथ रसिलो उन्मुक्त आभा कथा चल्ने चाल विवेक पूर्ण सजिलाे उक्ल्याउने सभ्यता ।
३. होस् निर्णायक जीवनी अचमकाे स्वाधीन यात्रामय चल्ने तागत स्वच्छ शान्त विनयी भर्ने सफा वाङ्मय सादा सज्जन साथ मेल गहिरो सत्कारको सम्पति मिल्ने आपसमा उदार मनका जोडी मिलून् दम्पति ।
४. गर्ने हो उपकार जे जति सक्यो आरामको मामला पाएको रमणीय होस् शुभ पला उत्साहको श्रृङ्खला आफैं चिन्न प्रयास दिव्य मनमा संस्कारको पालन गर्ने होस् अभिप्राय धन्य बलियो, होस् पाप प्रक्षालन ।
५. खोजेको नमुना समान यमुना गङ्गा मिलेको तट गर्ने स्नान बिहानको समयमा आनन्द भर्ने घट स्वेच्छा सामिल जिन्दगी कुशलता भेटेर सर्वाङ्गमा सेवा अक्कल फैलियोस् अझ सफा सादा सदा ढङ्गमा ।








