पर्यटक तान्दै अक्टोपस झरना

अक्टोपसको खुट्टाझैँ झरेको अक्टोपस झरना यतिबेला पर्यटकको गन्तव्य बन्न थालेको छ । बेँसीसहर–चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका वडा नं. ४ च्याम्चेमा अवस्थित यस झरनामा यतिबेला झरनाले आकर्षित गरेसँगै पर्यटकीय गन्तव्य बन्न थालेको हो । यस सडक छेवैमा सय मिटर माथिबाट लहरिँदै झरिरहेको कञ्चन पानी, लहरिँदै पानी बज्रिन्छ सडकमै । छहराबाटलहराउँदै झरेको पानीका सङ्ला छिटाहरु सुर्यको प्रकाशमा ठोक्किएर रंगीन बन्छन् अनि प्रतिछाँयामा देखिन्छ सप्तरंगी ईन्द्रेणी । झरनाको सुन्दरताले जो कसैको मन सजिलै लोभ्याई हाल्छ ।

सुनसान रहेको विश्वचर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा वाह्य पर्यटक बढेसँगै उक्त झरनामा पर्यटकको ओईरो लाग्न थालेको छ । यतिबेला दैनिक यतिबेला ३०० देखि ५०० जनासम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मात्र यहाँ आउँदैनन्, यस झरनाकै लागि भनेर समेत पर्यटक आउने गरेका छन् । पछिल्लो दिनहरुमा यस झरना पर्यटकीय गन्तव्यको रुपमा अघि बढ्दै गएको उहाँको भनाई छ । सवारी साधनमामनाङ गएका पर्यटकहरु समेत त्यहाँपुगेपछि एक्कैछिन भएपनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् । छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ । छहरा हेर्दै फुरुंग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । पर्यटकीय सिजन र यस पदमार्गमा पर्यटक बढ्दा झरना अवलोकन गर्ने पर्यटक पनि बढ्ने र घट्दा झरनामापुग्ने पर्यटक पनि घट्ने गरेको स्थानीयको भनाई छ ।

यस झरनामा विषेश गरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटकहरु झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, यस झरना अन्नपूर्ण पदमार्गमा पर्ने र रमणीय एवं सुन्दर भएकाले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेको छ । यस झरनामा आउनु भएका आन्तरिक पर्यटक शंकर श्रेष्ठले भन्नुभयो, यस झरनाले मनै आनन्दित बनायो । यहाँ आउने पर्यटकहरुलाई यस्तो झरना देख्दा नहेरी, झरनासँग नभेटि कहाँ मन मान्छ र ? उहाँले थप्नुभयो, यति मात्र होइन, झरनासँग सेल्फि त खिच्न छुटाउनु नै भएन । उहाँ मात्र नभई यस झरनामापुग्ने अधिकाश पर्यटकको भनाई उस्तै हुन्छ । यस झरना बेँसीसहर–चामे सडकको भीचभागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाई छ । केही समयसम्म सवारी साधनमा मनाङ आवतजावत गर्नेहरुमध्ये केहीयात्रुहरु दैनिक १०÷१२ जना मात्र झरनामा रमाउने गरेपनि यतिबेला पर्यटकहरु ह्वात्तै बढेकोे स्थानीयको भनाई छ । यसरी पर्यटक आगमन हुँदा पर्यटन व्यवसाय समेत फस्टाउने यहाँका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचार–प्रसारका साथै व्यवस्थित गर्न सके बाह्यै महिना पर्यटकको आगमन हुने र व्यवसाय समेत राम्रो चल्नेछ ।

सो झरना पुग्ने बेँसीसहर चामे सडक गुणस्तरिय बनाउन सके झन पर्यटक बढ्ने अपेक्षा पर्यटक व्यवसायीहरुको छ । प्रकृतिसँग रमाउने पर्यटकलाई यस्ता झरनाहरुले आकर्षित गरेको छ । गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, गाउँपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेकाले यस झरना सहित पालिकामा भएको अन्य झरनादेखि पर्यटकीय स्थल तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्नेछ । आवश्यक पूर्वाधार निर्माण र प्रचार प्रसारमा पालिका अघि बढेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.