तनहुँ दमौली
वेदव्यासको जन्मस्थल तनहुँको दमौलीमा विहिवारबाट आध्यात्मिक चेतनामूलक श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ विहिवारदेखी सुरु भएको छ । चार वेद १८ पुराण लगायतका धार्मिक ग्रन्थका लेखक भगवान वेदव्यासको जन्मस्थल व्यास गुफा परिसरमा विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाको आयोजनामा ज्ञान महायज्ञ सुरू भएको हो । महायज्ञको नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व उपकुलपति संस्कृतिविद जगमान गुरूङले गरे ।

संस्कृतिविद गुरूङले तनहुँको व्यास गुफा विश्वकै महत्वपूर्ण धार्मिक स्थल रहेको बताए । विश्वको शास्त्रको मेजर पोईन्ट तनहुँको दमौली स्थित व्यास गुफा रहेको उनको भनाई छ । । शक्तिका लागि चण्डी र मुक्तिका लागि श्रीमद्भागवत गिता निकै महत्वपूर्ण रहेको बताए । व्यास क्षेत्रमा सत्सगहरू निरन्तर हुनुपर्ने बताउदै कार्यक्रमका प्रमुख अतिथी गुरुङले यस क्षेत्रको प्रचार प्रसार विभिन्न कार्यक्रम तथा अनुष्ठान निरन्तर गर्न आवश्यक रहेको बताए ।

विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जा अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताह ज्ञान महायज्ञका प्रमुख कथा बाचक नेत्र प्रसाद पराजुलले व्यास गुफा क्षेत्रको माटो तिलकको रूपमा लगाउन योग्य पवित्र स्थान रहेको बताए ।
विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले नेपाल बचाउन सनातन हिन्दु राष्ट्र बनाउन आन्दोलनमा जानुपर्ने र त्यसको लागि जनमत बढाउन आवश्यक रहेको बताए ।

पूर्व सांसद एव धर्म जागरण अभियान केन्द्रीय अध्यक्ष शंकर प्रसाद पाण्डेले धर्म रक्षाको लागि सबै तत्पर हुनुपर्ने आवश्यकता रहेको बताए ।
भजन शिरोमणी शान्ति स्वरूपानन्द दामोदर बाबाले हिन भावनाबाट दुर हुनु नै हिन्दु हुनु रहेको छ । वेद भूमिलाई विश्वका ॐकार भूमिको रूपमा विकास गर्न सबै लाग्नुपर्ने बताए ।

व्यास अध्येता काशीनाथ न्यौपानेले व्यास क्षेत्रको महिमा महत्वपुर्ण भएको बताए ।
वेदानुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेले भागवत सबै कुराको विज भएको बताए । विश्व हिन्दु महासंघ स्याडजाका उपाध्यक्ष प्रेमराज पौडेलले स्वागत गरेको कार्यक्रम विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पदम प्रसाद पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा डा रघुनाथ न्यौपानेले ओम शव्दको उत्पतीको वारेमा प्रयोगात्मक अभ्यास समेत प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु हुनुपुर्व कलश यात्रा ले दमौली बजारको परिक्रमण समेत गरिएको थियो । विहिवारबाट सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कार्तिक २३ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ८ बजेदेखि साढे १२ बजे सम्म पाठ पारायण गरिने र दिउँसो १ बजेर १५ मिनेट देखि ४ बजे सम्म कथाबाचन हुने आयोजकले जानकारी दिएको छ ।











