माहेन्द्री माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भ समारोह

तनहुँ, १ पुस


तनहुँको व्यास नगरपालिका वडा नं ९ गजौडे झिनुवाटर स्थित माहेन्द्री माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भ समारोह आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै आलेले समयसापेक्ष शिक्षा परिवर्तन हुनुपर्ने बताए । पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउदै आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने धारणा राखे । देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै उनले भने अब समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्छ ।
साथै प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरि जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको उनले बताए । “बिगतका बजेटमा भएका फजुल खर्च कटौती गरि अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ, आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउदै लग्नेछौँ” उनले भने । साथै योजना बैंक बनाएर संघ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरि काम गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर वृद्धि गराउने काममा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
सोही अवसरमा गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धी गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताइन् । साथै आफु यसै विद्यालयको पूर्व विद्यार्थी भएकाले पनि यसको सुधार र बिकासमा सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री मावि कलेस्ती उपत्यकाकै अग्रणी शैक्षिक संस्था भएकाले पनि यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भए पनि शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतिको रुपमा देखिएको बताए । शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकको उत्तिकै लगन र परिश्रम आवश्यक पर्ने भन्दै यसका लागि सबैले समन्वय र सहकार्य गर्न उनले अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सुरेश थापा, जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख उद्धवराज कट्टेल, वरिष्ठ इन्जिनियर हरिदत्त पौडेल, पूर्व शिक्षक एवम् व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुपबहादुर अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य राजु आचार्य, राजापानी दिगो बिकास समाजका अध्यक्ष भक्तबहादुर गोदार, विद्यार्थी समृद्धि आचार्य लगायतले अभिभावकको विश्वास जित्ने गरि शैक्षिक गुणस्तर अभिवृद्धि गरि त्यस ठाउँका बालबालिका त्यही विद्यालयमा पढाउने वातावरण बनाउन स्कुल सफल हुनुपर्ने धारणा राखेका थिए । अभिभावकले अन्यत्र विद्यार्थी पठाउने समस्या अन्त्यका लागि सबैको पहल र समन्वय आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शिवशंकर आचार्यले विद्यालयको भौतिक तथा शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । सोही अवसरमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने, जेहेनदार तथा विपन्न बालबालिकालाई विभिन्न शीर्षकमा स्थापित छात्रवृत्ति अक्षषकोषको छात्रवृत्ति समेत वितरण गरिएको थियो । सोही अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरि सहयोग गर्ने तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा शिक्षिका अप्सरा श्रेष्ठले स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन शिक्षक सुरेन्द्र खनाल र भिम भट्टराईले गरेका थिए ।
विद्यालयले यो पुरै वर्षलाई स्वर्ण जयन्तीको रुपमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । आज प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम ०८१ पुस १ गते विशेष समारोह गरि सम्पन्न गरिने विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.