तनहुँका दुबै मृगौला पिडित कृष्ण बिकलाई मुस्लिम समाजद्वारा आर्थिक सहयोग तनहुँका दुबै मृगौला फेल भएका कृष्ण बिकलाई दमौलीमा रहेको दमौली मुस्लिम समाजले आर्थिक सहयोग गरेको छ । बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौला पीडित कृष्णबहादुर विकको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिनाई परेको उनलाई सहयोगी व्याक्ति संस्थाहरुले आर्थिक सहयोग गर्न थालेका हुन ।
बिहिबार तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई मुस्लिम समाजका सदस्य एवं युवा अभियान्ता महमद गफारले विकको उपचारमा सहयोग पुराउन नगद रु १० हजार रुपैँया सहयोग गर्नुभएको थियो । सोहि संस्थाका सदस्य सलिम मियाले नगद रु दुई हजार व्याक्तिगत रकम थप्दै जम्मा रु १२ हजार रुपैया सहयोग गर्नुभएको थियो । तनहुँको बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौलाबाट पीडित कृष्णबहादुर विक उपचारको खोजीमा रहेका छन् । आर्थिक अवस्था अत्यन्तै न्युन रहेको विक उपचारको खोजीमा भौतारिएका हुन् । काठमाडौँमा डाइलासिस गराइरहेको विकको उपचारका लागि ठूलै रकम लाग्ने परिवारजनले बताएका छन् ।
विकको दुवै मृगौलाले काम गर्न छोडेपछि परिवारजन निकै चिन्तित हुदैँ आएका छन् । श्रिमतिले मृगौला दिने भएपनी प्रत्यारोपडकोलागी समेत पैसा नभएको उनले बताए । मृगौला प्रत्यारोपडको लागि मात्र अन्दाजी रु ५ लाख भन्दा धेरै लाग्ने र हाल घरमा खाने चामलसम्म नरहेकाले उपचारमा मात्र होईन दुई छाक टर्न समेत समस्या परेको बिकले बताए । उनलाई पुर्णजीवन दिने तयारीमा परिवारजन रहेपनि प्रत्यारोपण गर्ने रकम नहुँदा सहयोगको खोजीमा छन् । विक ओछ्यानमा परेपछि परिवारजनमा रुवाबासी समेत चल्दै आएको छ । बुढेसकालका बाबुआमालाई पालनपोषण गर्नुपर्ने छोरा नै ओछ्यानमा थलिएपछि परिवारजनमा रुवाबासी चलेको छ । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग विक को उपचारमा सहयोग पुर्याइ दिन परिवारजनले आग्रह समेत गरेका छन् ।








