बाँदर आतंक नियन्त्रण समिति, तथा प्राकृतिक पर्यावरण मञ्च तनहुँले मंगलवार व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा बाँदर आतंक नियन्त्रण र पिडित किसानलाई क्षतिपूर्ति उपलव्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष सुदर्शन प्रधानको नेतृत्वमा आएका किसानले व्यास नगरपालिकाको अनसन चौतारीबाट नगरपालिका भवनसम्म प्लेकाड र व्यानर सहितको पिडितहरुको टोलीले बाँदर आतंक नियन्त्रण गरी पिडितलाई क्षतिपूर्तिको माग गरे । व्यास नगरपालिकाका उद्योग पर्यटन श्रम तथा रोजगार शाखाका प्रमुख अधिकृत राजेन्द्र कार्कीलाई माग सहितको ज्ञापनपत्र बुझाउदै मञ्चका अध्यक्ष सुर्दशन प्रधानले बाँदरबाट किसानको खेतीपाती नष्ट हुँदा त्यसको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने, बाँदर आतंकबाट विस्थापित जनताको मुअव्जा राज्यबाट उपलव्ध गराउनुपर्ने र राज्यले कुनैपनि नीति बनाएर वा मुल्य चुकाएर बाँदर आतंक रोक्नुपर्छ र बाँदरमैत्री कानुन खारेजगरी किसानमैत्री नीति अपनाउनुपर्ने बताए ।

व्यास नगरपालिकाका उद्योग पर्यटन श्रम तथा रोजगार शाखाका प्रमुख अधिकृत राजेन्द्र कार्कीले मञ्चले बुझाएको ज्ञापनपत्र लिदै किसान चारैतिरबाट चेपुवामा परेकोले आगामी नगरसभामा किसानका माग राखी सम्बोधन हुने गरी काम अगाडी बढाइने बताए । त्यस अवसरमा जिल्लाको विभिन्न स्थानबाट कृषकहरुको बाक्लो उपस्थिति रहको थियो ।








