प्रेस काउन्सिल नेपालको आयोजनामा दमौलीमा भएको एक कार्यक्रममा वक्ताहरुले पत्रकार आचारसंहिताको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । पछिल्लो समय पत्रकार आचारसंहिता उलङ्घनको घटनाहरु बढीरहेको समयमा “स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री” प्रेस काउन्सिल नेपाल भन्ने नाराका साथ पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा भएको पत्रकार आचारसंहिता जागरण २०८० कार्यक्रममा वक्ताहरुले सो भनाई व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दिपक पाण्डेले पत्रकार आचार संहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताए । उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने कामको बारेमा स्पष्ट पारेका थिए । प्रेस काउन्सिलले नियम र कानुनको पालना गरेर काम गरिरेको समेत उनले जानकारी दिए ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिता तथा आकर्षित कानुनका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । उनल पत्रकारिता क्षेत्रमा काम गर्दा कानुनको पालना गर्नुपर्ने र चित्त नबुझे क्षेत्र बदल्न सकिने बताइन् ।
प्रेस काउन्सिललका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले पत्रकार आचारसंहिता, अनुगमन, समस्या र चुनौती लगायतका विषयका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्यले तनहुँका सञ्चार माध्यमको अवस्थाको वारेमा कार्यक्रममा जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्मरबहादुर अधिकारीले सञ्चारमाध्यम खोल्दा विशेष मापदण्ड राख्नुपर्ने बताए । तरकारी बेचेजसो गरेर मिडिया खोल्न दिन नहुने पक्षमा आफु रहेको उनको दाबी थियो । पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रकाश पौडेल काउन्सिलले आगामी दिनमा झनै निश्पक्ष भएर काम गर्नुपर्ने बताएका थिए ।

पत्रकार महासंघ तनहुँ शाखा उपाध्यक्ष अस्मिता खनालले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव प्रताप रानाले गरेका थिए । तनहुँमा हाल ८ दैनिक पत्रिका, ८ साप्ताहिक पत्रिका, ११ वटा एफ.एम, २७ वटा अनलाईन र १ टेलिभिजन सञ्चालनमा रहेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा जिल्लाका पत्रकारहरुले आचारसंहिताको विषयमा राखेको जिज्ञासाको उत्तर प्रेस काउन्सिलका बोर्ड सदस्यद्धोय दिपक पाण्डे, दुर्गा भण्डारी र काउन्सिलका प्रवक्ता दिपक खनाल दिएका थिए ।








